कपिलवस्तु। ‘पहिलो त्रैमासिक परीक्षा सम्पन्न भयो। शिक्षक नहुँदा पाठ राम्रोसँग पढाइ भएको छैन। अर्थशास्त्र पढाउने शिक्षकले लेखा पढाउन आउनु हुन्छ। आउने जाने मात्र हो। पढाएको फिटिक्कै बुझिँदैन। गणित र अंग्रेजी पढाउने शिक्षक पनि हुनुहुन्न’, कपिलवस्तुको बुद्धभूमि नगरपालिका ३ रनगाई नेपाल राष्ट्रिय माविमा विद्यार्थी गुनासो गर्नुहुन्छ।
शैक्षिक सत्र सुरु भएपछि राहत दरबन्दीका तीन शिक्षक नियुक्त नहुँदा पढाइ अलपत्र भएको छ। राहत कोटा अन्तर्गत उच्च मावि तहको लेखा र माध्यमिक तहको अंग्रेजी र गणित विषयको शिक्षक नहुँदा पठनपाठनमा समस्या देखिएको छ। विद्यालयले वैशाख ११ गते विज्ञापन आह्वान गरेर जेठ ३२ गते लिखित परीक्षा लिएको थियो।
परीक्षा सकिएपछि दाँत दुख्यो भन्दै व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर पाण्डे भागेपछि नियुक्ति प्रक्रिया अलपत्र परेको छ। उत्तर पुस्तिका परीक्षण गरेर नजिता प्रकाशन गर्ने बेला भागेका अध्यक्षलाई लिन गएका विद्यालयका प्रअ बाबुराम थारु सम्पर्क बिहीन भएपछि उत्तर पुस्तिका मुचुल्का गर्दै प्रहरीलाई बुझाइएको बुद्धभूमि नगरपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद भट्टराईले जानकारी दिनुभयो।
पालिका र विषय विज्ञले मुचुल्का उठाएर इलाका प्रहरी कार्यालय गोरुसिङ्ेका उत्तर पुस्तिका बुझाइएको थियो। अन्दाजी १० बजे राति उत्तर पुस्तिका प्राप्त भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले बताउनुभयो। बुझाइएको उत्तर पुस्तिका लिन अहिलेसम्म कोही पनि नआएको बताइएको छ।
एक महिना पुग्न लाग्दा उत्तर पुस्तिका इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा थन्किएको छ। परीक्षा स्थलबाट भागेका प्रअ र अध्यक्षले अर्को दिन परीक्षामा धाधली भएको भन्दै नगर प्रमुख केशवकुमार श्रेष्ठलाई उजुरी दिएका थिए। नगरपालिकाको रोवहरमा सम्पन्न भएको परीक्षाका धाधली भएको आरोप लगाउँदै उजुरी आएपछि छानबिन गरी प्रतिवदेन बुझाउन निर्देशन दिएर पत्र लेखेको शिक्षा अधिकृत भट्टराईले बताउनुभयो।
पत्र गएको दुई साता भए पनि विद्यालय व्यवस्थापन समितिको बैठक बसेको छैन। असार ३१ गते आइतबार विद्यालय व्यस्थापन समितिको बैठक बस्ने तयारी भएको व्यवस्थापन समितिका अध्यक्ष पाण्डेले बताउनुभयो। परीक्षा संचालनको बेला वडा अध्यक्ष पटकपटक आउजाउ गरेको र अंक जोडजाडमा फरक भएको आरोप समेत छ।
विद्यालय व्यवस्थापन समितिका सदस्य रहेका वडा अध्यक्षले परीक्षा संचालनमा केही विवाद भएको बताउनुभयो। विवाद भएपछि छलफल गरेर दोस्रो पेपरको परीक्षा भएको बताइएको छ। आइतबारको बैठकमा लेखा विषयको परीक्षा नभएकोले सो विषयमा छलफल हुने अध्यक्षबाट जानकारी आएको बताउनुभयो।
एक महिनादेखि अलपत्र भएको नजिताको विषयमा छलफल हुनुपर्ने वडा अध्यक्षको माग रहेको छ। अध्यक्ष र प्रअका मान्छेले परीक्षा उर्तिण नहुने देखिएपछि नजिता प्रकाशन गर्ने बेला भागेको स्थानीय बताउँछन्। नतिजा सार्वजनिक गर्न स्थानीय पटकपटक विद्यालयमा डेलिकेशन जाने गरेका छन्।