विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त गर्नुपर्छ : प्रतिनिधिसभामा सांसद गगन थापा | Education Patra

विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त गर्नुपर्छ : प्रतिनिधिसभामा सांसद गगन थापा


एजुेकेशनपत्र, काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभामा सांसद गगन थापाले विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त गर्नुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि सैद्धान्तिक छलफलका क्रममा बोल्दै थापाले नेपालको पठन संस्कृति बदल्नुपर्ने बेला आएको पनि बताए ।

थापाले विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त गर्दै विश्वविद्यालय शिक्षालाई अनुसन्धानतिर लैजानुपर्ने बताए । सरकारले विश्वविद्यालय ऐन छिटोभन्दा छिटो ल्याउनुपर्ने पनि उनले बताए । ‘अहिले पनि विश्वविद्यालयको ऐन ल्याइएको छैन । यो अर्थ मन्त्रालयतिर घुमिरहेको छ । सरकारले यसको महत्त्वलाई बुझ्न सकेन । सरकारको विश्वविद्यालय शिक्षालाई समग्रतामा हेर्ने एउटा अवसर हो । प्रदेशको सरकारलाई मागदर्शन गर्ने अवसर पनि हो । उच्च शिक्षालाई अनुसन्धानतिर कसरी लिएर जाने, पठनपाठन कसरी बदल्ने ? कतिओटा विश्वविद्यालय चाहिन्छ ? यी सबैको बारेमा हेर्ने एउटा मौका हो,’ उनले भने, ‘विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त गर्नका निम्ति विश्वविद्यालयका प्राध्यापक, कर्मचारीलगायतलाई दलीय सदस्यता लिन नपाउने व्यवस्था जुन अहिले छ, हामी गम्भीरतापूर्वक ती कुराहरुलाई अक्षरशः पालना गर्छौं ।’

शिक्षा क्षेत्रमा देखिएका कमजोरी सच्याउन तयार रहेको थापाको भनाइ थियो । उनले नयाँ कानुन निर्माण गर्दा यसअघिका कमजोरी सच्याउने गरी ल्याउनुपर्ने बताए । ‘कतिपय भएका कमजोरीहरूलाई सच्याउँछौं । विश्वविद्यालयको विधेयकहरू ल्याउँदै गर्दा कार्यपालिकाले कहीँ कतै पनि, कुनै पनि बाटोबाट हस्तक्षेप गर्न नसक्ने गरिकन बदल्नुपर्छ,’ उनले भने ।

नेपाल विश्वविद्यालय स्थापना नयाँ सोचका साथ ल्याइएको पनि उनको भनाइ थियो । ‘नविन प्राज्ञिक मान्यता र दृष्टिकोणका साथमा यो विश्वविद्यालय ऐन आएको छ । समाजका व्यक्ति र व्यक्तित्वहरू नेपाल विश्वविद्यालय बनाउने पछाडि लाग्नुभएको छ । उहाँहरू नेपाली समाजका प्रतिष्ठित नागरिक हुनुहुन्छ । पवित्र सोचका साथमा यो अवधारणा लिएर आउनुभएको छ । एउटा स्वायत्त, सार्वजनिक संस्थाको रुपमा यसलाई विकास गर्ने उहाँहरूले अठोट गर्नुभएको छ,’ उनले भने ।

नेपाल विश्वविद्यालयलाई पुराना विश्वविद्यालयहरूमा जस्तै दलीय भागबन्डा हुन दिनु नहुने पनि थापाले बताए । कान्तिपुरबाट

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्