एजुेकेशनपत्र, काठमाण्डौ । कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले राजर्षि जनक विश्वविद्यालयमा प्रा.डा. अमरप्रसाद यादवलाई उपकुलपतिमा नियुक्त गरेका छन् ।
यादवलाई गत बुधबार नियुक्ति दिइएको पत्र आइतबार प्राप्त भएको शिक्षा मन्त्रालयले जनाएको छ । डेढ वर्षदेखि रिक्त उपकुलपति पदमा उनले नियुक्ति पाएका हुन् । सिफारिस समिति गठन भए पनि नाम सिफारिस हुन नसक्दा नियुक्ति प्रक्रिया रोकिएको थियो ।
सहकुलपति तथा शिक्षामन्त्री अशोककुमार राई संयोजकत्वको सिफारिस समितिले यादवसहित प्रा.डा. महानन्द चालिसे र क्षितिज उपाध्यय ढुंगेलको नाम सिफारिस गरेको थियो ।
समितिमा शिक्षासचिव रामकृष्ण सुवेदी र राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य रमेशचन्द्र पौडेल सदस्य थिए । सिफारिसको आधारमा कुलपतिले उपकुलपति नियुक्त गर्ने व्यवस्था छ । उपकुलपति नहुँदा विश्वविद्यालयका अन्य पद पनि रिक्त रहेका छन् ।
उपकुलपति नियुक्तिका लागि समितिले दरखास्त आह्वान गरेको थियो । दरखास्त दिनेमध्ये ६ जना अल्पसूचीमा परेका थिए । तीमध्येबाट प्रस्तुति र अन्तरवार्ता लिएर ३ जनाको नाम सिफारिस गरिएको हो ।
२०७९ भदौमा नै उपकुलपति नियुक्त गर्न तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले आवेदन माग गरेका थिए । उनले उपकुलपतिको नाम सिफारिस गर्न सकेनन् । सरकार फेरिएपछि वैशाखको पहिलो साता पुनः अर्को सिफारिस समिति गठन गरेर दरखास्त आह्वान गरिएको थियो ।
त्यसको ४ महिनापछि विश्वविद्यालयले उपकुलपति पाएको हो । २०७४ सालमा स्थापना भएको विश्वविद्यालयको केन्द्रीय कार्यालय धनुषाको जनकपुरधाममा रहेको छ ।