सीटीईभीटीले वृद्धि गरेको अध्ययन शुल्क फिर्ता गर्न माग | Education Patra

सीटीईभीटीले वृद्धि गरेको अध्ययन शुल्क फिर्ता गर्न माग


एजुेकेशनपत्र, काठमाण्डौ । सत्तारुढलगायत ६ विद्यार्थी संठगनले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले वृद्धि गरेको नर्सिङ, एचए, र फार्मेसीको अध्ययन शुल्क फिर्ता गर्न माग गरेका छन् ।

शिक्षामन्त्री अशोककुमार राईलाई सोमबार ज्ञापनपत्र बुझाउँदै विद्यार्थीले १८ बुँदे माग अघि सारेका हुन् । सीटीईभीटीले यी विषयको शुल्क डेढ लाखदेखि साढे ८६ हजार रुपैयाँसम्म वृद्धि गरेपछि विभिन्न विद्यार्थी संगठनले आन्दोलनका घोषणा गरेका छन् ।

संयुक्त विद्यार्थी संगठनले ज्ञापनपत्रमा विदेशी सम्बन्धनमा सञ्चालित कलेजमा २० प्रतिशत छात्रवृत्ति लागू गर्नसमेत शिक्षा मन्त्रालयसँग माग गरेका छन् ।

मन्त्रालयको सम्बन्धनमा ८५ वटा विदेशी कलेज सञ्चालनमा रहेका छन् । यी कलेजले मनोमानी ढंगबाट लिइने चर्को शुल्क र आर्थिक अपारदर्शिताको कारण ठूलो संख्यामा विद्यार्थी ठगिएको विद्यार्थीको भनाइ छ ।

कलेजमाथि प्रभावकारी नियमन र नियन्त्रण गर्न आग्रह गरिएको छ । ‘राज्यबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रदान गर्दै आएको विद्यालयदेखि विश्वविद्यालयसम्मका सबै तहमा छात्रवृत्तिको ग्यारेन्टी गर्दै यसलाई निष्पक्ष र पारदर्शीताका लागि सेन्ट्रल पोट्रल वनाउन अनुरोध गर्दै सरोकारवाला पक्षवाट यसको प्रभावकारी अनुगमन र नियमन गरियोस्,’ ज्ञापनपत्रमा भनिएको छ ।

रिक्त रहेका विश्वविद्यालय पदाधिकारी, त्रिभुवन विश्वविद्यालय सेवा आयोग, नास्टलगायतका अनुसन्धान केन्द्रमा प्रतिस्पर्धाको आधारमा नियुक्त गर्न माग गरिएको छ । विद्यार्थी संगठनले लामो समयदेखि पदाधिकारीविहीन रहेकाले कतिपय महत्त्वपूर्ण काम रोकिएको र दैनिक रूपमा कामकाज गर्न नसकिएको विद्यार्थीले औंल्याएका छन् ।

साथै उनीहरूले समयमा नै परीक्षाका नतिजा प्रकाशन गर्ने व्यवस्था मिलाउन माग गरेका छन् । परीक्षा नियन्त्रण कार्यालयहरूलाई प्रदेशस्तरमा विस्तार गरेर प्रमाणपत्र प्राप्त गर्ने व्यवस्था मिलाउनुपर्ने उनीहरूको माग छ ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली, अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाही, समाजबादी विद्यार्थी युनियन अध्यक्ष रमेश यादव र अखिल छैठौंका अध्यक्ष देवेन्द्र कुँवरले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन् । कान्तिपुरबाट

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्