काठमाडौँ । महाराजगन्ज चिकित्सा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनले ताला लगाएको छ ।
स्ववियुले क्याम्पस प्रमुख डा. अर्जुन लामिछानेको कार्यालय, क्याम्पस प्रशासन, आर्थिक शाखा, भण्डारण शाखा लगायत शैक्षिक शाखा बाहेक सम्पूर्ण क्याम्पसमा ताला लगाएको हो ।
क्याम्पस प्रमुख र प्रशासनसँग विभिन्न मागहरू राख्दा बेवास्ता गर्दै आएको भन्दै तालाबन्दी गरिएको स्ववियु सभापति आनन्द कुमार सिंहले जानकारी दिए ।
स्ववियुले विगत ४–५ महिनादेखि विद्यार्थीका निम्ति विभिन्न मागहरू राख्दै आएको थियो । तर, क्याम्पसले निर्लज्ज तरिकाले आफ्नो कर्तव्यबाट पन्छिन खोजेको सिंहको भनाइ छ ।
५० वर्ष पहिले बनेको होस्टेल बढाउनपर्ने, नियमित कक्षा सञ्चालन हुनुपर्ने, परिवर्तित शैक्षिक नीति बनाउनुपर्ने, होस्टेल सुधार गर्नुपर्ने, खेल्ने ठाउँ व्यवस्थित गर्नुपर्ने, पार्किङको व्यवस्था मिलाउनुपर्ने, ३ महिना देखि बन्द भएको क्यान्टिन चाँडो सञ्चालनमा ल्याउनुपर्ने लगायतका मागहरू स्ववियुले राखेको थियो ।
तर, क्याम्पसले विद्यार्थीका आवश्यकताभन्दा पनि आफ्नो अनुकूलता अनुसार मात्र कार्य गर्दै आएको उनको भनाइ छ ।