पोखरा, गण्डकी प्रदेश । गण्डकी प्रदेशको कास्की जिल्लामा बाँदर आतंकले बढ्दो रुप लिएपछि गण्डकी विश्वविद्यालयले ड्रोनको प्रयोग गरेर बाँदर धपाउने विधिको अनुसन्धान थालेको छ।
गण्डकी विश्वविद्यालय मातहत पोखरा महानगरपालिका ३२ ज्ञान गुञ्जस्थित यसको अनुसन्धान भइरहेको र मेसिन निर्माणका लागि थालनी गरिएको गण्डकी विश्वविद्यालयका अनुसन्धान, अन्वेषण तथा आविष्कार केन्द्रका निर्देशक राजकुमार थापाले जानकारी दिए । उनले गण्डकीमा बाँदर व्यवस्थापन चुनौती रहेको बताउँदै ड्रोनको प्रयोग गरेर धपाउने विधि उपयुक्त हुने बताए
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा बाँदर व्यवस्थापनका लागि नीति तथा कार्यक्रम र बजेटमा समेत सम्बोधन गरेको छ । सरकारले घरेलु मदिराका साथै गाँजा खेतीको अनुसन्धानलाई पनि प्राथमिकतामा राखेको छ । घरेलु कोदोको मदिरालाई ‘ब्रान्डिङ’ गर्न विश्वविद्यालयले थालेको अनुसन्धान पनि निरन्तर चलिरहेको कुलपति प्रा. गणेशमान गुरुङले बताए ।
गण्डकी प्रदेश सरकारले बाँदर व्यवस्थापनका लागि नीति तथा कार्यक्रममा सम्बोधन गरेको थियो। सरकारले घरेलु मदिराका साथै गाँजा खेतीको अनुसन्धानलाई पनि प्राथमिकतामा राखेको छ। घरेलु कोदोको मदिरालाई विश्वविद्यालयले ब्रान्डिङ गर्न थालेको र अनुसन्धान पनि निरन्तर चलिरहेको कुलपति गुरुङले बताए ।
मदिरा जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले अनुसन्धानमा समय लाग्ने उनको तर्क छ। महँगो विदेशी मदिराको आयात घटाउन पनि स्थानीय मदिरालाई ब्रान्डिङ गरेर बजारीकरण गर्नुपर्ने आवाज उठ्ने गरेको छ।
गण्डकी प्रदेशमै पहिलोपटक विभिन्न क्षेत्रका लागि विभिन्न ८ प्रकारका मेसिन उत्पादन गरिएको छ। विश्वविद्यालयको अनुसन्धान, अन्वेषण तथा आविष्कार केन्द्रमा उत्पादन गरिएका उपकरणहरूले घाँस टुक्राउने, गोबर पेल्ने, कोदो टिप्ने, तरकारीरखानेकुरा सुकाउने (सोलार ड्रायर), दाउरा चिर्ने, अदुवा प्रशोधन गर्न सकिन्छ।
‘विज्ञान तथा प्रविधिको वर्तमान युगमा नयाँ प्रविधि तथा नवप्रर्वतनलाई जोड दिन आवश्यक छ‚’ गुरुङले भने । केन्द्रले पेट्रोलबाट चल्ने स्कुटरलाई विद्युतीय स्कुटरमा परिवर्तन गरी प्रयोगमा ल्याएको छ ।
आविष्कार केन्द्रका निर्देशक थापाले अहिले गाउँको आवश्यकतालाई लक्षित गरि मेसिन तथा औजार उत्पादन गरिएको बताए । उनका अनुसार प्रविधियुक्त यन्त्र र बहुकार्यात्मक औजार जीवनोपयोगी हुन्छन् । उनले कोदो रोप्ने र अदुवा छोडाउने उपकरण निर्माणको चरणमा रहेको बताए ।
[स्रोत: कान्तिपुर]