'केयू'मा खानी इन्जिनियरिङको अध्यापन हुने | Education Patra

‘केयू’मा खानी इन्जिनियरिङको अध्यापन हुने


काभ्रेपलाञ्चोक । देशमा आवश्यक रहेको माइनिङ (खानी) इन्जिनियरको आवश्यकता पूरा गर्नका लागि मद्दत गर्ने उद्देश्यले काठमाडौं विश्वविद्यालय (केयू)ले यस वर्षदेखि स्नातक तहमा खानी इन्जिनियर विषयको अध्यापन सुरु गर्ने भएको छ ।

विश्वविद्यालयले बुधबार नेपालमा माइनिङ (खानी) इन्जिनियरिङको महत्व, उपयोगिता तथा अध्ययन अनुसन्धान विषयक कार्यक्रमको आयोजना गर्दै विश्वविद्यालयले चालु शैक्षिक सत्रदेखि माइनिङ इन्जिनियरिङ विषयको अध्यापन सुरु गरिएको जानकारी दिइएको हो ।

केयूले एक वर्षमा तीस जना खानी इन्जिनियर उत्पादन गर्ने लक्ष्य राखेको छ । कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले विश्वविद्यालयले नेपालका विभिन्न खानी उद्योगहरुमा आवश्यक पर्ने खानी इन्जिनियर उत्पादन गर्ने उद्देश्यले स्नातक तहमा उक्त विषयको अध्यापन सुरु गर्न लागेको बताउनुभयो । उहाँले नेपालमा हजारौं खानी तथा क्रसर उद्योग रहेपनि त्यहाँ खानीसम्बन्धी इन्जिनियर नभएको दाबी गर्नुभयो ।

“हामी नेपाल सरकार तथा अन्य खानी उद्योगमा आवश्यक पर्ने इन्जिनियर उत्पादन गर्न सक्षम छौं, खानी इन्जिनियर नभएका कारण खानी तथा भूगर्भ विभागमा समेत खानी दरबन्दी अनुसार इन्जिनियर हुनुहुन्न,” उपकुलपति प्रा.डा थापाले भन्नुभयो । “हिजो राज्यले आग्रह गरेका कारण केहि ज्ञान नहुँदा पनि हामीले जियोम्याट्रिक्स इन्जिनियर उत्पादन गर्‍याैं, आज राज्यलाई खानी इन्जिनियर चाहिएको छ, यस विषयमा हामीलाई केही ज्ञान छ, हामी खानी इन्जिनियर उत्पादन गर्न चाहन्छौं,” उहाँले थप्नुभयो ।

उपकुलपति डा. थापाले खानी इन्जिनियर उत्पादन गर्न सकेको खण्डमा देशमै रोजगारीको अवसर प्राप्त हुनुको साथै विदेशमा समेत यसको माग हुने बताउनुभयो । उहाँले युवा पुस्तालाई नेपालमा नै आकर्षण गर्ने र उनीहरुलाई टिकाउनुपर्ने मुख्य चुनौती रहेको बताउनुभयो । उहाँले केयूले सञ्चालन गर्न लागेको खानी इन्जिनिर विषय गण्डकी विश्वविद्यालयमा पनि सुरु गर्ने सम्झौता गरिएको बताउनुभयो । उहाँले विश्वविद्यालयले स्नातक तहको पहिलो वर्षमा ३० जनाको भर्नाका लागि आवेदन खुलाए पनि यस विषयको ज्ञान नभएका कारण एक जनाको मात्रै आवेदन परेको बताउनुभयो ।

कार्यक्रममा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले नेपालमा ६३ प्रकारका खनिज रहेको अनुसन्धानबाट पत्ता लागेको बताउनुभयो । उहाँले विभागमा १६ जना खानी इन्जिनियरको दरबन्दी रहे पनि आफूसमेत गरी पाँच जना मात्रै रहेको र बाँकी दरबन्दी खाली रहेको बताउनुभयो ।

महानिर्देशक घिमिरेले नेपालमा एक वर्षको अवधिमा निर्माण सामग्रीजन्य वस्तुको विक्रीबाट सरकारलाई सात अर्व राजस्व प्राप्त भएको बताउनुभयो । उहाँले देशभरका ९२ वटा खानीको अध्ययन गर्दा ती खानीबाट उत्पादित निर्माण सामाग्री विदेश निर्यात गर्न सकेको खण्डमा एक वर्षको अवधिमा १३ खर्ब आम्दानी गर्न सकिने र त्यसबाट हालसम्मको विदेश व्यापार घाटा तिर्न सकिने दाबी गर्नुभयो । उहाँले भारत, अष्ट्रेलिया, क्यानडामा समेत खानी इन्जिनियरको कमी रहेको बताउनुभयो । कार्यक्रममा नेपाल इन्जिनियरिङ परिषद्का उपाध्यक्ष डा. विकास अधिकारीले केयूले सुरु गर्न लागेको खानी इन्जिनियरिङ विषयको अध्यापनका लागि परिषद्ले नौ दिनमा नै स्वीकृति दिएको बताउनुभयो ।

यस्तै, उहाँले केयूले सुरु गरेको खानी इन्जिनियरङ विषयको अध्यापनले नेपालमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न मद्दत गर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय प्रमुख दीपककुमार गौतमले जिल्लाको मुख्य आम्दानीको रुपमा खानी उद्योगलाई लिन सकिने बताउनुभयो । उहाँले हाल जिल्लाको पनौती नगरपालिकाले खानीजन्य पदार्थको विक्रीबाट वार्षिक करोडौँ आम्दानी गर्ने गरेको बताउनुभयो । जिल्लाको एक स्थानीय तहले एक माइनिङ इन्जिनियर अध्ययन गराउनका लागि पहल गरिनुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा विश्वविद्यालयका स्कुल अफ इन्जिनियरिङका डिन डा. मनीष पोखरेलले माइनिङ इन्जिनियरिङ विषयको अध्ययनको महत्वको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा विश्वविद्यालयका सिभिल इन्जिनियरिङ विभाग प्रमुख डा. श्यामसुन्दर खड्काले केयूले ‘एक पालिका, एक माइनिङ इन्जिनियर’को अवधारणा अघि बढाएको भन्दै उक्त अवधारणलाई सहयोग गर्नका लागि स्थानीय तहका प्रमुखहरुलाई आग्रह गर्नुभयो ।

उहाँले विश्वविद्यालयले खानी इन्जिनियरिङ विषयको अध्यापनका लागि डेढ वर्षदेखि काम गर्दै आएको बताउनुभयो । नेपालमा उद्योग र निर्माणका लागि आवश्यक पर्ने चुनढुङ्गा, कोइला, रातो माटो, ग्रेनाइट, सिंगमरमर, कोइला, सुन, र बहुमूल्य र अर्ध–बहुमूल्य पत्थर (टुरमलाइन, एक्वामेरीन, रूबी, र नीलमणि) रहेको अध्ययनहरुले देखाएको छ ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्